14/09/2026
हरितालिका तीजको हार्दिक मङ्गलमय शुभकामना!
हरितालिका तीज नेपालका विभिन्न समुदायमा श्रद्धा र आस्थाका साथ मनाइने एक महत्त्वपूर्ण पर्व हो। नेपालको बहुसांस्कृतिक ढाँचामा हरेक समुदायका आफ्नै मौलिक संस्कार, परम्परा र धार्मिक मान्यताहरू रहेका छन्।
परम्परागत नेवा: संस्कृतिमा तीज नमनाउनुको मूल आधार हाम्रो मौलिक ‘ईही’ (बेल विवाह) र ‘बारा तयेगु’ (गुफा राख्ने) संस्कारसँग जोडिएको छ।
नेवा: परम्परामा बाल्यावस्थामै कन्याहरूको विवाह साक्षात भगवान् विष्णुको रूप मानिने 'सुवर्ण कुमार' (बेल) सँग गराइन्छ। दैवी पति अमर हुने भएकाले नेवा: दर्शनमा महिलाहरू सदैव अखण्ड सौभाग्यवती रहन्छन् भन्ने मान्यता छ। त्यसैले पतिको दीर्घायुका लागि कडा व्रत बस्ने तीजको धार्मिक अवधारणा परम्परागत नेवा: संस्कारसँग भिन्न रहेको हो।
आजको समयमा सांस्कृतिक आदान–प्रदान र सामाजिक सद्भावका कारण धेरै नेवा: महिलाहरू पनि खुसी साटासाट गर्दै तीजका उत्सवहरूमा सहभागी हुने गर्दछन्, जुन हाम्रो बहुसांस्कृतिक समाजको सुन्दर पक्ष हो।
अरूको संस्कृतिको सम्मान गरौँ, आफ्नो मौलिक नेवा: संस्कृति र परम्पराको संरक्षण गरौँ!
समस्त दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि एवं पारिवारिक सुख-समृद्धिको हार्दिक शुभकामना।
— श्री नेवा: संस्कृति संरक्षण समाज