15/03/2026
जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीज्यूलाई विशेष बधाई व्यक्त गर्दछु। उहाँको विजय केवल एक व्यक्तिको जीत मात्र होइन, परिवर्तन, स्वाभिमान र जनताको आवाजलाई बलियो बनाउने विश्वासको विजय हो। जुम्लाका सचेत मतदाताले देखाउनुभएको साहस र समर्थनका लागि जुम्ली जनता सबैप्रति हार्दिक सम्मान र धन्यवाद व्यक्त गर्दछु।
यसैगरी, समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा पुग्न सफल हुनुहुने राप्रपाका माननीयज्यूहरूलाई पनि हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।
यहाँहरूको उपस्थितिले संसदमा राष्ट्रियता, सुशासन, सांस्कृतिक पहिचान र जनताको वास्तविक मुद्दालाई अझ सशक्त रूपमा उठाउने विश्वास लिएको छु। जनताको भरोसालाई सम्मान गर्दै देश र जनताको हितमा दृढतापूर्वक आवाज उठाउनुहुनेछ भन्ने अपेक्षा छ।
राप्रपा देशको स्वाभिमान, स्थिरता र सुशासनको पक्षमा उभिएको शक्ति हो। आगामी दिनहरूमा संसदभित्र र बाहिर जनताको आवाज अझ मजबुत रूपमा उठ्दै जाने विश्वासका साथ पुनः सबै माननीयज्यूहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
11/03/2026
राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र अहिले भइरहेको बहस समानुपातिकमा को पठाउने भन्ने विषय होइन। त्यो विषय त चुनावअघि नै टुंगिएको हो। क्रमसंख्या अनुसार एक नम्बर, दुई नम्बर, तीन नम्बर गर्दै व्यक्तिको नामसहितको सूची हामीले पहिल्यै निर्वाचन आयोगमा बुझाइसकेका छौँ। अहिले त्यसै विषयलाई लिएर अनावश्यक बहस गर्नुको कुनै अर्थ छैन।
अहिलेको साँचो बहस भनेको यो हुनुपर्छ हाम्रो पार्टीको मत किन घट्यो? समानुपातिक र प्रत्यक्ष दुवै तर्फ जनताले किन हामीप्रति अपेक्षाकृत कम विश्वास देखाए? के हाम्रो राजनीति जनताको वास्तविक आवश्यकता र अपेक्षासँग जोडिन सकेन? कि हामी आफैँले आत्मसमीक्षा गर्नुपर्ने ठाउँमा पुगिसकेका छौँ?
राजा र धर्मको मुद्दा उठाउनु गलत होइन, तर जनताले आफ्नो दैनिक जीवनमा भोगिरहेका समस्या रोजगारी, महँगी, शिक्षा, स्वास्थ्य, सुशासन यी विषयमा हाम्रो प्रस्तुति कति प्रभावकारी भयो भन्ने कुरामा गम्भीर समीक्षा हुन जरुरी छ। जनताले विश्वास नघटाएको भए परिणाम यस्तो आउने थिएन। त्यसैले यथार्थ स्वीकार गरेर सुधारतर्फ अघि बढ्नु नै जिम्मेवार राजनीति हो।
यसबीच प्रवक्ता मा. ज्ञानेन्द्र साहीज्यूले एक सिट जितेर हाम्रो पार्टीलाई राष्ट्रिय पार्टी बनाउन सफल हुनुभएको छ। त्यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुक सबैलाई मेरो स्पष्ट आग्रह छ , अहिले समानुपातिकमा को पठाउने भनेर सिफारिस गर्ने समय होइन। त्यो प्रक्रिया पहिल्यै समाप्त भइसकेको विषय हो। अहिले आवश्यक छ भने पार्टी किन कमजोर भयो, जनताको विश्वास कसरी फर्काउने र पार्टीलाई कसरी पुनः मजबुत बनाउने भन्ने विषयमा खुला, इमानदार र कठोर आत्मसमिक्षा गर्ने, पार्टीभित्र सत्य बोल्न डराउनु हुँदैन।
सत्यबाट भागेर पार्टी बलियो हुदैन ।
08/03/2026
काठमाडौं क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएकोमा सुनिल केसीलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु। जनताको अपेक्षा र विश्वासअनुसार उहाँले यस क्षेत्रको विकास र समृद्धिका लागि प्रभावकारी भूमिका खेल्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु।
मलाई माया, विश्वास र मत दिनुहुने काठमाडौं क्षेत्र नम्बर २ का सम्पूर्ण मतदाताप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु। तपाईंहरूले देखाउनुभएको विश्वास, साथ र उत्साह मेरो लागि ठूलो प्रेरणा बनेको छ।
निर्वाचनको परिणाम जस्तोसुकै भए पनि यस क्षेत्रका समस्या, जनताको आवाज र विकासका आवश्यकताप्रति मेरो चासो र प्रतिबद्धता यथावत रहनेछ। आफ्नो पहल र क्षमताभित्रबाट सम्भव हुने कामहरू गर्दै, यस क्षेत्रका जनताको सेवामा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु।
05/03/2026
काठमाडौँ क्षेत्र नं. २ अन्तर्गत काठमाडौँ महानगरपालिका वडा नं. ९ र ३२ का विभिन्न बुथ केन्द्रहरूको अवलोकन।
05/03/2026
सम्भावी बोर्डिङ स्कुल, बत्तिसपुतलीबाट पहिलो मतदान!
05/03/2026
पशुपतिनाथले हामी सबैको कल्याण गरून्।
शुभबिहानी।
02/03/2026
आज कागेश्वरी मनोहराको ४ र ५ मा घरदैलो कार्यक्रम भयो। काठमाडौँ २ मा निर्विकल्प हलो चिन्हमा मतदान गरेर मलाई एकपटक सेवा गर्ने मौका दिनुहोस्।
02/03/2026
राष्ट्रको स्वाभिमान जोगाउँदै धर्म, संस्कृति र पहिचानको संरक्षण गर्नु हाम्रो कर्तव्य हो। आजको आवश्यकता भनेको बेरोजगारी समस्याको समधान गरी युवालाई स्वदेशमै अवसर दिने, र भ्रष्टाचारको अन्त्य गर्ने दृढ संकल्प हो। समृद्ध, स्वाभिमानी र आत्मनिर्भर नेपाल निर्माणका लागि सबैले हलो चिन्हमा मतदान गरौं ।