22/08/2026
#गौथली
एउटी युवतीको सपना हुन्छ- पढ्ने, आफ्नै खुट्टामा उभिने र आफ्नो जीवनको निर्णय आफैं गर्ने । तर उसका अगाडी प्रश्न खडा हुन्छ- ‘छोरीले धेरै पढेर के गर्छे ?’
यिनै प्रश्नबाट सुरु हुने गौंथलीको संघर्ष अन्ततः विवाह, घरेलु हिंसा, सामाजिक मर्यादा र पितृसत्तात्मक नियन्त्रणको घेरासम्म पुग्छ ।
कपिल रिजाल निर्देशित फिल्म ‘गौंथली’ यही घेराभित्र एउटी महिलाले आफ्नो अस्तित्व र सपनाका लागि गर्नु परेको संघर्षको कथा हो ।
फिल्ममा २०६० सालअघिको ग्रामीण सामाजिक परिवेशलाई पृष्ठभूमि बनाइएको छ । गौंथली पढ्न चाहन्छे । अगाडि बढ्न चाहन्छे । तर त्यसको बाधक हुन्छ, त्यति बेलाको समाज र पितृसत्तात्मक सोच । त्यही मानसिकताले उसको सपनालाई रोक्छ । ऊ त्यो घेराबाट उम्केर अगाडि बढ्न त खोज्छे तर सक्दिन ।
अन्ततः उसको इच्छाविपरीत बिहे हुन्छ । विवाहपछि मात्र उसले आफूले विवाह गरेको व्यक्ति ‘अटिजम’ भएका हुन् भनेर थाहा पाउँछे । त्यसपछि सुरु हुन्छ गौथलीको नयाँ घर, नयाँ सम्बन्ध र सामाजिक अपेक्षाबीच आफ्नो अस्तित्व र सपनाको खोजी ।
फिल्मको सुरुवाती हिस्सामा देखिने गौंथली र ठूलेबीच देखिने मतभेद र असहजता पीडादायी छन् । तर विस्तारै समयसँगै ठूलेले गौंथलीप्रति गरेको सहयोग र देखाएको माया, आत्मीयताले उनीहरुको सम्बन्धलाई फरक अमायाम दिन्छ । यहीँबाट फिल्मले अटिजम भएका व्यक्तिलाई केवल ‘असामान्य’ भनेर हेर्ने सामाजिक दृष्टिकोण र सामाजिक भाष्यमाथि प्रश्न उठाउँछ । ठूलेको चरित्रले गौथलीलाई प्रेम, संवेदना र स्वीकार्यताको अर्थलाई पनि फरक ढंगले प्रस्तुत गरेको देखिन्छ ।
तर फिल्मको कथा अघि बढ्दै जाँदा अटिजमसँग सम्बन्धित कथाभन्दा गौंथलीले भोग्ने महिला हिंसा र पितृसत्तात्मक नियन्त्रण बढी प्रभावशाली भएर आउँछ ।
विशेषगरी गौथलीकी सासूको व्यवहारले घरेलु हिंसाको निकै डरलाग्दो पाटो देखाउँछ । गौंथलीप्रति कुनै पनि ठाउँमा माया र भावनाको सम्बन्ध नदेखाउनु, हरेक कुराको दोष गौंथलीकै टाउकामा थुपार्नु, सासूलाई आफ्नो इच्छा व्यक्त गर्दासमेत ‘बाठी बन्न नखोज्, मेरो ठूले सोझो छ’ भन्ने जवाफ फर्काउनु जस्ताचरित्रले सासूमा देखिन्छ । गौथलीले मृत शिशु जन्माएपछि भने कथा अझ पीडादायी मोडमा पुग्छ । त्यस्तो समय सबैको अपेक्षामा परिवारको माया, हेरचाह र भावनात्मक साथ पाउनुपर्ने ठाउँमा उल्टै दोषको चाङ थुपारिन्छ । अन्तत: ऊ घरबाट निकालिन्छे । यस समय दर्शकको आँखामा सासूप्रति आक्रोश, गौंथलीप्रति समवेदनाको भावना पैदा हुन्छ ।
फिल्ममा गौंथलीलाई पढ्नका लागि हौसला दिने शिक्षकहरुको भने राम्रो भूमिका देखिन्छ । फिल्मको महत्वपूर्ण पक्ष ठूलेको चरित्र हो । ‘अटिजम’ भएका व्यक्तिलाई समाज र परिवारले कसरी बुझ्छन्, विवाह र सम्बन्धमा उनीहरूको अधिकार तथा स्वीकार्यताको प्रश्न के हो भन्ने विषयलाई फिल्मले उठाउने आधार बनाएको छ । तर अन्त्यसम्म आइपुग्दा यो पक्ष कम महिला हिंसा र पितृसत्तात्मक संरचनामाथिको टिप्पणी बढी हाबी हुन्छ । त्यसले अटिजमलाई केन्द्रमा राखेर फिल्म हेर्न जाने दर्शकका लागि यही पक्ष केही हदसम्म अपूरो लाग्न सक्छ ।
सासूको चरित्रमार्फत महिलाले नै अर्को महिलामाथि पितृसत्तात्मक मूल्य–मान्यता लागू गरिरहेको देखाइन्छ । तर यहाँ एउटा प्रश्न पनि उठ्छ- महिला हिंसाको जरो महिलामै छ कि महिलालाई पनि त्यही पितृसत्तात्मक संरचनाले हिंसा पुनरुत्पादन गर्न सिकाएको हो ? फिल्मले यो प्रश्नलाई अझ गहिराइमा लैजान सकेको भए यसको सामाजिक टिप्पणी थप प्रभावकारी बन्न सक्थ्यो ।
अभिनयतर्फ सिम्रन खड्काको गौंथलीको चरित्र फिल्मको महत्वपुर्ण आधार बनेको छ । संघर्ष, पीडा, डर र आशाबीचको भावनात्मक यात्रा उनले प्रभावकारी रूपमा बोकेकी छन् । ठूलेको भुमिकामा रहेका अरुण क्षेत्री पनि संवादभन्दा हाउभाउ,क्रियाकलाप, व्यवहारमार्फत चरित्र स्थापीत गर्ने चुनौतीलाई प्रभावकारी अभिनयमार्फत सम्हालेका छन् ।
फिल्मको संगीतले भावनात्मक पक्षलाई बलियो बनाउने प्रयास गरेको छ । चाहे त्यो गौंथलीको बिहे हुने समयको होस् वा कथाका संवेदनशील मोडहरुमा ।
‘गौंथली’ले पुरानो नेपाली समाजको एउटा कठोर चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ । महिला हिंसा, शिक्षा, बालविवाह र फरक क्षमताका व्यक्तिप्रतिको सामाजिक दृष्टिकोणजस्ता महत्वपूर्ण विषयलाई एउटै कथाभित्र ल्याएर समाजलाई सन्देश भने दिएको देखिन्छ ।
अटिजम, बालविवाह वा महिला शिक्षाको कथा मात्रको फिल्म मात्र नभएर गौंथली महिला हिंसा र पितृसत्तात्मक सोचले घेरिएको समाजको चित्रण पनि हो ।
समग्रमा, ‘गौँथली’ एउटा महिलाको व्यक्तिगत संघर्षको कथा हुँदै पितृसत्तात्मक समाजको कठोर अनुहार देखाउने फिल्म बनेको छ । शिक्षा, बालविवाह, घरेलु हिंसा र अटिजमप्रतिको सामाजिक दृष्टिकोणजस्ता विषयलाई एउटै कथामा जोड्ने प्रयास फिल्मको बलियो पक्ष हो । गौंथली र ठूलेबीच विस्तारै विकसित हुने आत्मीयताले कथालाई केवल पीडा र हिंसाको कथामा सीमित हुन दिँदैन । यद्यपि, अटिजमलाई महत्वपूर्ण विषय बनाएर अघि बढेको कथा पछिल्लो चरणमा महिला हिंसा र पितृसत्तात्मक संरचनातर्फ बढी मोडिँदा अटिजमसम्बन्धी पक्ष केही अधुरो महसुस हुन्छ ।
गौंथलीको संघर्षले एउटा प्रश्न भने छाडेर जान्छ- महिलाको सपना र स्वतन्त्रतामाथि समाजले अझै कति समयसम्म ‘मर्यादा’को नाममा छेकबार लगाइरहने