30/08/2026
खरसाङमा भाजयुमो दार्जीलिङ जिल्ला समितिको महत्वपूर्ण बैठक सम्पन्न
भारतीय जनता युवा मोर्चा (भाजयुमो), दार्जीलिङ जिल्ला समितिको महत्वपूर्ण बैठक हिजो खरसाङस्थित भाजपा पार्टी कार्यालयमा सम्पन्न भएको छ। चुनावी परिणामपछि युवा मोर्चाको जिल्ला स्तरको पहिलो महत्वपूर्ण बैठक खरसाङमा आयोजना गरिएको हो।
बैठकमा आगामी दिनहरूमा युवा मोर्चाले सञ्चालन गर्ने विभिन्न संगठनात्मक तथा सामाजिक कार्यक्रमहरूबारे विस्तृत छलफल गरिएको थियो। बैठकलाई सम्बोधन गर्दै जिल्ला महासचिव सुपेन्द्र प्रधानले युवा मोर्चालाई अझ सक्रिय, जनमुखी र समाजसँग जोडेर अघि बढाउने विषयमा आफ्नो कार्ययोजना प्रस्तुत गर्नुभयो।
बैठकमा आगामी दिनहरूका लागि निम्न कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरिएको छ:
- प्रत्येक आइतबार खरसाङ नगरपालिका क्षेत्रका विभिन्न स्थानमा युवा मोर्चाद्वारा सरसफाई अभियान सञ्चालन गर्ने।
- युवाहरूमा लागुऔषधको बढ्दो समस्या विरुद्ध Anti-Drugs Campaign सञ्चालन गर्ने।
- विभिन्न सामाजिक तथा जनसेवामूलक कार्यक्रमहरू आयोजना गर्ने।
- देशका माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको जन्मदिवस, १७ सेप्टेम्बरको अवसरमा रक्तदान शिविर (Blood Donation Camp) आयोजना गर्ने।
- जिल्लाका प्रत्येक मण्डलको भ्रमण गरी स्थानीय युवाहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्ने।
- सेप्टेम्बर महिनाको दोस्रो सप्ताहमा खरसाङमा भाजयुमोको विशाल युवा सभा आयोजना गर्ने।
सभामा जिल्ला अध्यक्ष नीरज राई, सुमन प्रधान, रेश्मा गुरुङ, विश्वदीप कार्कीले पनि सम्बोधन गरे।
बैठकमा युवा शक्तिलाई संगठनसँग अझ मजबुत रूपमा जोड्दै सामाजिक सेवा, राष्ट्रसेवा तथा जनहितका कार्यहरूमा सक्रिय सहभागिता सुनिश्चित गर्ने विषयमा पनि जोड दिइयो। युवा मोर्चाले आगामी दिनमा संगठन विस्तारसँगै समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न जनमुखी कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ।
बैठकमा भाजपा दार्जीलिङ जिल्ला अध्यक्ष नीरज राई, जिल्ला महासचिव सुपेन्द्र प्रधान, जिल्ला उपाध्यक्षहरू सुमेर धमाला, सुमन प्रधान, अगम प्रधान तथा प्रज्वाल गुरुङ, जिल्ला सचिवहरू बिकास परियार, मनोज राई तथा बिश्वदीप कार्की, भाजपा सदस्यहरू रेश्मा गुरुङ (गोर्खे चेली) तथा दीपा तामाङ, साथै खरसाङ वरिपरिका विभिन्न मण्डलका अध्यक्षहरूको उपस्थिति रहेको थियो।
बैठकले युवा शक्तिलाई सामाजिक उत्तरदायित्व, संगठनात्मक सक्रियता र राष्ट्रसेवाको भावनासहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।