04/10/2026
विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम
भक्तपुर । विजयादशमी तथा शुभ दीपावली २०८३ को अवसरमा भक्तपुर नगर क्षेत्रभित्रका विभिन्न वर्गका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकबीच शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
भक्तपुर नगरपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा नगरपालिकाबाट परिचयपत्र प्राप्त रातो, नीलो, पहेँलो र सेतो वर्गका अपाङ्गता भएका व्यक्ति तथा उनीहरूका अभिभावकहरूको सहभागिता रहेको थियो। कार्यक्रममा भक्तपुर नगरपालिकाले सञ्चालन गरेको तीनमहिने सांकेतिक भाषा तालिमका सहभागीहरूलाई प्रमाणपत्रसमेत वितरण गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अपाङ्गता भएका व्यक्तिहरूका लागि सांकेतिक भाषा महत्वपूर्ण भएकाले यसको आवश्यकता महसुस गरी नगरपालिकाले तालिम सञ्चालन गरेको बताउनुभयो। उहाँले तालिमबाट प्राप्त ज्ञान र सीपको सदुपयोग गर्न आग्रह गर्नुभयो।
अपाङ्गता भएका व्यक्तिहरूमा पनि फरक–फरक क्षमता हुने भएकाले उनीहरूको क्षमता पहिचान गरी प्रोत्साहित गर्नुपर्नेमा नगर प्रमुख प्रजापतिले जोड दिनुभयो। अपाङ्गता विभिन्न स्वास्थ्य अवस्था, वंशानुगत कारण, जन्मजात अवस्था वा दुर्घटनाका कारण हुन सक्ने उल्लेख गर्दै उहाँले अपाङ्गता भएका व्यक्तिका परिवारले समेत विभिन्न कठिनाइ भोग्नुपर्ने बताउनुभयो।
उहाँले अपाङ्गता भएका व्यक्तिमाथि कुनै पनि प्रकारको भेदभाव गर्न नहुने बताउँदै अपाङ्गतामैत्री संरचना निर्माणमा नगरपालिकाले जोड दिँदै आएको उल्लेख गर्नुभयो। साथै, अपाङ्गता भएका व्यक्तिका लागि नगरपालिकाले घरदैलो नर्सिङ सेवा सञ्चालन गरिरहेको जानकारी दिनुभयो।
भक्तपुर नगरपालिकाकी उपप्रमुख तथा अपाङ्गता समिति संयोजक रजनी जोशीले चाडपर्वका समयमा अपाङ्गता भएका व्यक्तिहरूको विशेष ख्याल राख्दै सन्तुलित खाना खुवाउनुपर्ने बताउनुभयो। अपाङ्गता भएका व्यक्तिहरूको हक–अधिकार सुनिश्चित गर्ने उद्देश्यले नगरपालिकाले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो।
उहाँले अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्यलाई ध्यानमा राखी स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको, साथै उनीहरूलाई आवश्यक पर्ने सहायक सामग्री वितरण गर्दै आएको बताउनुभयो।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जमुना मिश्रले धन्यवाद ज्ञापन गर्नुभएको थियो।
यसैगरी, अपाङ्गता समिति सदस्य तथा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले सहभागीहरूलाई स्वागत गर्नुभएको थियो। उहाँका अनुसार भक्तपुर नगरपालिकाभित्र हाल ७२६ जना अपाङ्गता भएका व्यक्तिले परिचयपत्र प्राप्त गरेका छन्।
कार्यक्रममा कार्यपालिका सदस्य रोसनमैयाँ सुवाल, डा. रत्नसुन्दर लासिवा, अपाङ्गता परिचयपत्र वितरण समितिका सदस्य हिमालयश्वरलाल मूल तथा जिल्ला बाहिर संघका अध्यक्ष सूर्यबहादुर बुढाथोकी लगायतले मन्तव्य राख्नुभएको थियो।
कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।