05/10/2026
उज्यालो नेपाल पार्टी, भिमफेदी गाउँपालिका अध्यक्ष आशिष अस्लामीको वक्तव्य ! 🤷
केही एमाले साथीहरूले मैले एमालेलाई धोका दिए भनेर आरोपित गर्न खोजिरहनु भएको छ । तर मेरो मन अझै पनि एमाले र मार्क्सवादी नै छ भन्ने जानकारी गराउन चाहन्छु । कुनै दिन आवश्यक परेमा केही थान एमालेजनले मलाई दिएको धोकाका बारेमा बोलौँला, अन्यथा म कुनै आरोप-प्रत्यारोपमा आफूलाई केन्द्रित गर्न चाहन्नँ । म एमालेमा रहँदा करिब १७ वर्ष निरन्तर र नियमित रूपमा पार्टीको काममा खटिएको छु । अब, उज्यालो नेपालमा पनि आफूलाई उत्तिकै समर्पित गर्नेछु ।
केही साथीहरूलाई मेरो विचार मरेछ भन्ने लागेको छ भने ती साथीहरूसँग आवश्यक पर्दा मार्क्सवाद, कम्युनिस्ट घोषणापत्र, लेनिनवाद, माओवाद र जनताको बहुदलीय जनवादका विषयमा बहस (Debate) गर्न तयार छु । ती साथीहरूलाई यो पनि भन्न चाहन्छु कि देश लोकतान्त्रिक व्यवस्थामा छ, र नेपाली नागरिकले अहिले कुनै ‘वाद’ भन्दा पनि सेवा प्रदायक कार्यालयहरूमा हुने झन्झट र दुःखको अन्त्य भई सहज सेवा चाहनुभएको छ । नागरिकहरू सुशासन, समृद्धि, जीवन रूपान्तरण, भ्रष्टाचारको अन्त्य तथा समानता चाहन्छन् । गएको फागुनको चुनावको सन्देश नै सबै राजनीतिक दलहरूका लागि रूपान्तरण र नेतृत्व हस्तान्तरण हो । एक-अर्कालाई आक्षेप लगाएर फलदायी समय खेर फाल्नुभन्दा तपाईंहरू पनि रूपान्तरण हुनुहोस् र सबै मिलेर मुलुकलाई समृद्धितर्फ डोहोर्याऔँ भन्ने अनुरोध गर्दछु ।
केही साथीहरूले उज्यालो नेपाल पार्टीलाई तामाङहरूको पार्टी भनेर एकल जातीय दलका रूपमा ट्याग भिडाएर उपेक्षा गर्न खोजेको महसुस मैले गरेँ । ती साथीहरूलाई कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक (MD) नहुनुभएको भए देशबाट १८ घण्टाको लोडसेडिङ हट्ने थिएन भन्ने कुरा पुनः स्मरण गराउन चाहन्छु । यस पार्टीको केन्द्रीय कमिटीदेखि प्रदेश हुँदै पालिका कमिटीसम्म समावेशी ढाँचा रहेको र अध्यक्षपछिको नेतृत्वमा अन्य समुदायका साथीहरू नै रहनुभएकाले वास्तविकता बुझिदिनुहुन अनुरोध गर्दछु ।
हिजो भीमफेदीमा गठित पार्टी कमिटीको कार्यक्रम प्रदेश कमिटीका सचिव रामप्रसाद कालाखेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो, जुन कालाखेती बाहुन जातको थर हो । उक्त कमिटीको नेतृत्व मैले गरेको छु, म आशिष अस्लामी, मगर समुदायको हुँ । ल्हासा बुटी स्याङ्बा (डङ्गोल) दिदी नेवार समुदायको हुनुहुन्छ । भीमफेदी र बागमती प्रदेश नै बहुसंख्यक तामाङ समुदायको बसोबास रहेको क्षेत्र भएकाले त्यहाँ तामाङ साथीहरूको सहभागिता बढी हुनु स्वाभाविक हो । अब यस पार्टीको नेतृत्व हाम्रो कमिटीका उपाध्यक्ष रोशन घलान, सचिव सुदीप लामा र कोषाध्यक्ष युगेन घलानजस्ता तामाङ साथीहरूले नै गर्नुहोस् भन्ने म चाहन्छु । म पार्टीको संगठनात्मक संरचना आधारभूत तहसम्म तयार गरेर उहाँहरूलाई नयाँ नेतृत्वका रूपमा अघि बढाउन चाहन्छु, र साथीहरू पनि यसमा निकै उत्साहित हुनुहुन्छ ।
धन्यवाद !