28/09/2026
धादिङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत धादिङ क्षेत्र नं. २ बाट विनोद रिजालले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिएका छन्।
क्षेत्र नं. २ बाट खुल्ला, महिला, आदिवासी जनजाति, दलित, अपाङ्गता भएका व्यक्ति तथा अन्य सीमान्तकृत समुदायको प्रतिनिधित्व गरि कुल ४३ जना महाधिवेशन प्रतिनिधि रहने छन । यस अन्तर्गत सातवटा पालिका सभापति, दुई प्रदेशसभा क्षेत्रीय समितिका सभापति र संघीय निर्वाचन क्षेत्रीय समितिका सभापति गरी १० जना पदेन प्रतिनिधि रहनेछन्।
विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका रिजालले नेपाल विद्यार्थी संघ (नेविसंघ) हुँदै कांग्रेसको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। विद्यार्थी तथा युवा राजनीतिमा लामो समयदेखि सक्रिय रहेका कारण पार्टीभित्र युवा पुस्तामाझ उनको राम्रो परिचय र सम्बन्ध रहेको कांग्रेसका स्थानीय कार्यकर्ताहरू बताउँछन्।
विशेषगरी युवा तथा विद्यार्थीमाझ रिजालको प्रभाव, संगठनात्मक सक्रियता र पार्टीभित्रको चिनजान उनको उम्मेदवारीका महत्वपूर्ण आधारका रूपमा हेरिएको छ। समग्र पार्टी पंक्तिमा समेत उनको सम्बन्ध र प्रभाव राम्रो रहेको बताइन्छ।
क्षेत्र नं. २ मा विभिन्न क्लस्टरबाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी परेको अवस्थामा रिजालको उम्मेदवारीलाई युवा पुस्ताको प्रतिनिधित्वसँग जोडेर हेरिएको छ। युवा तथा विद्यार्थीमाझ रहेको उनको प्रभाव र पार्टीभित्रको सम्बन्धले निर्वाचनमा उनको पक्षमा सकारात्मक वातावरण बन्न सक्ने कांग्रेसका स्थानीय कार्यकर्ताहरूको बुझाइ छ।
महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए युवा, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका सवाललाई पार्टीको नीति तथा निर्णय प्रक्रियामा प्रभावकारी रूपमा उठाउने रिजालको प्रतिबद्धता रहेको छ।