03/06/2026
राष्ट्रिय योजना आयोगमा नीति अनुसन्धान प्रतिष्ठान टोलीको भेटघाट र छलफल।
राष्ट्रिय योजना आयोग, सिंहदरबार, २०८३ जेठ २०।
आज नीति अनुसन्धान प्रतिष्ठानको टोलीले राष्ट्रिय योजना आयोगमा आयोगका माननीय उपाध्यक्ष एवं सदस्यहरूसँग भेटघाट गरी नेपाल सरकारले आ.व. २०८३/८४ को बजेट वक्तव्यमा घोषणा गरेको “नीति अनुसन्धान प्रतिष्ठानलाई राष्ट्रिय योजना आयोग अन्तर्गत राखी सरकारको दीर्घकालीन सोच र नीति निर्माण गर्न सक्षम निकाय बनाउने” नीतिको सन्दर्भमा नीति अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय योजना आयोगको सम्बन्धको बारेमा प्रारम्भिक कुराकानी गर्यो। नीति अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय योजना आयोगको घनिष्ट सम्बन्ध स्थापना गर्न अवधारणा लगायतका विषयमा छलफलको शृङ्खला शुरू गर्ने र नीति अनुसन्धान प्रतिष्ठानको सञ्चालन सुचारु रूपमा राख्न आयोगको सहयोग रहने विषयमा कुराकानी भयो। भेटघाटमा आयोगका माननीय उपाध्यक्ष डा. गुणाकर भट्ट र माननीय सदस्यहरू डा. देवेन्द्र गौचन, डा. पुकार मल्ल र रेशु अर्याल ढुङ्गाना तथा नीति अनुसन्धान प्रतिष्ठानका कार्यालय प्रबन्धक एवं नि. कार्यालय प्रमुख लक्ष्मण भट्टराई, अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खड्का, वरिष्ठ अनुसन्धानकर्ताहरू डा. मुक्ति रिजाल तथा डा. कल्पना खनाल र सह-प्रबन्धक कृष्ण प्रसाद बि.क. सहभागी हुनुहुन्थ्यो।
27/05/2026
नीति अनुसन्धान प्रतिष्ठानको पुनर्संरचनासम्बन्धी अन्तर्क्रिया
२०८३/२/१३
नीति अनुसन्धान प्रतिष्ठानको पुनर्संरचनासम्बन्धमा प्रतिष्ठानमा एक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरियो । उक्त अन्तर्क्रियामा नीति अनुसन्धान प्रतिष्ठानका कर्मचारीहरू, प्रतिष्ठानका सल्लाहकारहरू तथा वरिष्ठ विधागत विज्ञहरू सहभागी हुनुहुन्थ्यो ।
प्रतिष्ठानका नि. कार्यालय प्रमुख लक्ष्मण प्रसाद भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त अन्तर्क्रियामा विज्ञहरूले नीति अनुसन्धान प्रतिष्ठानको सम्भावित पुनर्संरचनासम्बन्धमा आआफ्ना बिचारहरू व्यक्त गर्नुभएको थियो । नीति अनुसन्धान प्रतिष्ठान एक पुनर्संरचित, स्वायत्त, साधन स्रोतयुक्त र कार्यस्वतन्त्रता सहितको सरकारी थिङ्क ट्याङ्कको रुपमा रहँदा नेपाल सरकारलाई प्रभावकारी रुपमा सहयोग गर्न सक्ने कुरामा सबैको मतैक्य रह्यो ।
26/05/2026
एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा प्रणाली विषयक सार्वजनिक नीति संवाद
२०८३/२/८
नीति अनुसन्धान प्रतिष्ठानमा सामाजिक सुरक्षा प्रणालीको एकीकरण विषयक अध्ययनको प्रारम्भिक मस्यौदा प्रतिवेदनका निष्कर्ष र सिफारिसहरूलाई प्रमाणीकरण गर्ने उद्देश्यले एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा प्रणाली विषयक सार्वजनिक नीति संवाद आयोजना गरियो । नेपालमा विध्यमान सामाजिक सुरक्षासम्बन्धी विभिन्न प्रणालीलाई एकीकरण गरी एकीकृत राष्ट्रिय सामाजिक सुरक्षा प्रणाली निर्माणका लागि नेपाल सरकारलाई पृष्ठपोषण प्रदान गर्ने उद्देश्यले नीअप्रद्वारा सञ्चालित एक अध्ययनको लागि सुझाव सङ्कलन गर्न आयोजित उक्त नीति संवादमा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिरहेका नेपाल सरकारका सङ्घीय मन्त्रालय र निकायहरू, नेपालस्थित विकास साझेदारहरू र विषय विज्ञहरू सहित अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानका अनुसन्धानकर्ता डा. गिरीराज शर्माले सञ्चालन गर्नुभएको सो कार्यक्रमको सुरुमा नीति अनुसन्धान प्रतिष्ठानका नि. कार्यालय प्रमुख श्री लक्ष्मण प्रसाद भट्टराईले स्वागत मन्तव्यसहित कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।प्रतिष्ठानका अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खड्काले अनुसन्धान प्रतिवेदनको मुख्य विषयवस्तुमा केन्द्रित प्रस्तुतीकरण दिई थप छलफलको लागि पृष्ठभूमि प्रदान गर्नुभएको थियो ।
21/05/2026
समीक्षा/द्रुत अध्ययन प्रतिवेदन सार्वजनिकीकरण तथा छलफल कार्यक्रम
२०८३/२/५
नीति अनुसन्धान प्रतिष्ठान (PRI), इपिडिमियोलोजी तथा महामारी व्यवस्थापन शाखा (EDCD) तथा कोशिश संस्थाको समन्वयमा “राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना, २०७७ को समीक्षा/द्रुत अध्ययन प्रतिवेदन सार्वजनिकीकरण तथा छलफल कार्यक्रम” सम्पन्न भयो।
कार्यक्रमको सुरुमा नीति अनुसन्धान प्रतिष्ठानका नि. कार्यालय प्रमुख श्री लक्ष्मण प्रसाद भट्टराईले स्वागत मन्तव्य तथा औपचारिक शुभारम्भ गर्नुभएको थियो। त्यसै गरी, प्रतिष्ठानकै अनुसन्धानकर्ता श्री अशोक पाण्डेले अध्ययन प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कोशिश सँस्थाको तर्फबाट मातृका देवकोटाले विषयवस्तुमा प्रकाश पार्नु भएको थियो भने EDCD बाट डा. पोमावती पुनले अब बन्ने राष्ट्रिय मानसिक स्वास्थ्य रणनीति तथा कार्य योजनाको प्रगति र अवस्थाको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, स्वास्थ्य क्षेत्रका विज्ञ तथा मानसिक स्वास्थ्य सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो।
कार्यक्रममा मानसिक स्वास्थ्य नीति, सेवा प्रवाह, कार्यान्वयनका चुनौती तथा सुधारका आवश्यक पक्षहरूबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रमको सहजीकरण र सञ्चालन नीति अनुसन्धान प्रतिष्ठानका प्राञ्जल रिजाल र कुसुम ढुङ्गानाले गर्नुभएको थियो।
19/05/2026
नीअप्रमा AI सम्बन्धी प्रस्तुतीकरण र छलफल
२०८३/२/४
नीति अनुसन्धान प्रतिष्ठानमा कृत्रिम बौद्धिकता (Artificial Intelligence) सम्बन्धमा प्रस्तुतीकरण र छलफलको आयोजना गरियो । उक्त अवसरमा संयुक्त राज्य अमेरिकामा प्राध्यापन गरिरहनुभएका प्रा. निर क्षेत्रीले Beyond Digitalisation- From Policy to Reality: the Missing Foundation of Nepal’s AI Ambition विषयमा प्रस्तुतीकरण दिनुभएको थियो । प्रस्तुतीकरणपश्चात कृत्रिम बौद्धिकताका विभिन्न पक्षमा प्रा. क्षेत्रीसंग छलफल समेत भएको थियो ।
यसअघि पनि प्रा. क्षेत्रीले नीअप्रमा AI संग सम्बन्धित दुईवटा प्रस्तुतीकरण दिइसक्नुभएको छ ।
यी प्रस्तुतीकरण र छलफलहरूबाट नीति अनुसन्धान प्रतिष्ठानको क्षमताबृद्धिमा मद्दत पुगेको छ ।
धन्यवाद, प्रा. निर क्षेत्रीज्यू !
19/05/2026
Interaction between PRI and NIIS/CASS
18 May 2026
The Policy Research Institute (PRI) and the National Institute of International Strategy/Chinese Academy of Social Sciences (NIIS/CASS) held an interaction at the PRI.
The PRI was led by Officiating Head, Mr. Laxman Prasad Bhattarai, and the NIIS/CASS delegation was led by Professor Dr. Chen Xin, Vice Director General of the NIIS/CASS.
In his welcome remarks, Mr. Bhattarai warmly welcomed the NIIS/CASS delegation and touched upon the age-old friendly relations between Nepal and the People’s Republic of China. In his remarks, Professor Chen introduced the NIIS/CASS and highlighted the importance of cooperation between the two countries.
Senior Research Fellow Dr. Khaga Nath Adhikari made a presentation on the Foreign Policy Priorities of Nepal’s New Government and Nepal-China Relations. From the NIIS side, Dr. Li Zhifei, Senior Research Fellow &. Director of the Research Adminstration Department, made a presentation on New Concepts and Ideas in China’s Global Initiatives and Impacts on China-Nepal Cooperation. The presentations were followd by discussions on matters of mutual interest.
Dr. Deepak Kumar Khadka, Head of the Research Department, PRI, offerred a Vote of Thanks.
The PRI and the NIIS/CASS have concluded an MoU in May 2025 for exchanging cooperation on research works.
15/05/2026
सौम्य शक्ति (Soft Power) सम्बन्धी सार्वजनिक नीति संवाद
२०८३/१/३१
नीति अनुसन्धान प्रतिष्ठानले नेपालको परराष्ट्र नीतिका उद्देश्यहरू प्राप्त गर्नको लागि सौम्य शक्तिको विकास र उपयोगसम्बन्धी सार्वजनिक नीति संवादको आयोजना गर्यो । उक्त नीति संवादमा विश्वविध्यालयका प्राध्यापकहरू, नेपाल सरकारका सम्बन्धित निकायका जिम्मेवार अधिकृतहरू तथा विषय विज्ञहरू सहभागी हुनुहुन्थ्यो ।
प्रतिष्ठानका नि. कार्यालय प्रमुख लक्ष्मण प्रसाद भट्टराईको स्वागत मन्तव्यबाट सुरु भएको उक्त नीति संवादमा वरिष्ठ अनुसन्धानकर्ता डा. खगनाथ अधिकारीले प्रस्तुतीकरण दिनुभएको थियो ।
उपर्युक्त नीति संवादमा Brand Finance ले पहिचान गरेका सौम्य शक्तिका स्तम्भ र अवयवहरू (Pillars and Attributes) मा नेपालको अवस्था, तिनमा सुधारका सम्भावनाहरू तथा तिनीहरूको विकास र प्रभावकारी उपयोगको लागि नेपाल सरकारले अपाउनु पर्ने उपायहरूको बारेमा छलफल भएको थियो । नीति अनुसन्धान प्रतिष्ठानबाट भैरहेको उपर्युक्त विषयको अध्ययनको लागि सो संवाद निकै उपयोगी रह्यो ।
13/05/2026
नीति अनुसन्धान प्रतिष्ठान
२०८२ वैशाख २९
आज नीति अनुसन्धान प्रतिष्ठानमा संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (UNDP) का निर्वाचन विज्ञहरूको टोलीले भेटघाट गरी प्रतिष्ठानले गरेका निर्वाचनसम्बन्धी नीति अनुसन्धानको बारेमा जानकारी लिनुका साथै युएनडीपीले निर्वाचन आयोगलाई पुर्याइरहेको प्राविधिक सहयोगको बारेमा विचार विनिमय गरेको छ।
छलफलमा सहभागीहरू:
• स्टिभ क्यानहाम (निर्वाचन प्रविधि सल्लाहकार, युएनडीपी)
• बीपेन्द्र श्रेष्ठ (सूचना इन्टग्रेटी विज्ञ, युएनडीपी)
• प्रभात कुमार (रणनीतिक संयोजन, सम्पर्क तथा निर्वाचन प्रविधि विशेषज्ञ, युएनडीपी)
• डा. मुक्ति रिजाल (वरिष्ठ अनुसन्धानकर्ता, नीति अनुसन्धान प्रतिष्ठान)
• डा. दीपक कुमार खड्का (वरिष्ठ अनुसन्धानकर्ता, नीति अनुसन्धान प्रतिष्ठान)
05/05/2026
सङ्घीय निजामती सेवा ऐन, २०८३ को मस्यौदामा छलफल
आज मिति २०८३ बैशाख २२ गतेका दिन नीति अनुसन्धान प्रतिष्ठान (नीअप्र) मा सङ्घीय निजामती सेवा ऐन, २०८३ को मस्यौदामा छलफल गर्न सार्वजनिक नीति संवादको आयोजना गरियो । नीअप्रका कार्यालय प्रमुख श्री लक्ष्मण प्रसाद भट्टराईको स्वागत मन्तव्य र अनुसन्धान विभाग प्रमुख डा. दीपक कुमार खड्काको सङ्क्षिप्त प्रस्तुतिबाट सुरु भएको सो छलफलमा निजामती सेवालगायतका क्षेत्रमा विज्ञता हासिल गर्नुभएका श्री उमेश प्रसाद मैनाली, श्री विमल वाग्ले, श्री कृष्ण ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य श्री मीना ज्ञवाली, वरिष्ठ अधिवक्ता श्री चन्द्रकान्त ज्ञवाली, गोपीनाथ मैनाली, श्री राजेन्द्र अधिकारी, नीअप्रका वरिष्ठ अनुसन्धानकर्ता डा. मुक्तिराम रिजाल लगायतले आआफ्ना सारगर्भित धारणाहरू व्यक्त गर्नुभएको थियो । उक्त छलफल नीअप्रको लागि निकै उपयोगी भएको पाइयो ।
22/04/2026
सम्माननीय प्रधानमन्त्रीसँग नीति अनुसन्धान प्रतिष्ठानको प्रतिनिधिमण्डलको भेटघाट
सम्माननीय प्रधानमन्त्री श्री बालेन्द्र शाहसँग नीति अनुसन्धान प्रतिष्ठानको प्रतिनिधिमण्डलले हिजो, बैशाख ८ गते, भेट गरी सम्माननीय प्रधानमन्त्रीज्यूलाई प्रतिष्ठानका गतिविधि, कार्यक्रम र बजेटको बारेमा अवगत गराएको छ । माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र राष्ट्रिय योजना आयोगका पदाधिकारीहरू समेतको उपस्थितिमा भएको उक्त छलफलमा नीति अनुसन्धान प्रतिष्ठानका प्रतिनिधिहरूले नीति अनुसन्धान प्रतिष्ठानका गतिविधिहरू, प्रतिष्ठान र नेपाल सरकारबीचमा भैरहेको सहकार्य, बोर्डको आवश्यकता तथा प्रतिष्ठानको संभावित पुनर्संरचना जस्ता विषयहरूमा प्रतिष्ठानको धारणा राख्नुभएको थियो ।
हाल नीति अनुसन्धान प्रतिष्ठानले नेपाल सरकारलाई आवश्यक परेका विषयहरूमा अनुसन्धान गरी प्रमाणमा आधारित सिफारिस प्रस्तुत गर्ने, नेपाल सरकारका विध्यमान नीतिहरूको समीक्षा गरी प्रतिवेदन पेश गर्ने एवं नेपल सरकारको नीति प्रयोगशाला (Policy Lab) मा रचनात्मक सहयोग उपलब्ध गराउँदै आएको छ ।
उपर्युक्त भेटघाको अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यूले व्यक्त गर्नुभएका “….योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारलाई सेवा प्रवाहमा सहजता मिल्ने” तथा “विषय विज्ञ र अनुसन्धानकर्ताको महत्त्व कति रहन्छ भन्ने हामीलाई थाह छ। हामीलाई यस्तो उत्कृष्ट विज्ञता चाहिएको हो, जसले जनप्रतिनिधिले भन्दा पनि गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्न सकुन्। सरकारले विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा ग्रहण गर्नेछ।” जस्ता भनाईहरूबाट प्रतिष्ठान अझ उत्साहित भएको छ ।