11/10/2026
साँखुमा नेपालभाषा गजलको उत्सव: ‘मतिना पौ’ गजल संग्रह लोकार्पण
शंखरापुर, काठमाडौं, २०८३ असोज २४: महाकवि गिरिजाप्रसाद जोशी लुमन्ति प्रतिष्ठानको आयोजनामा नेपालभाषा गजल गोष्ठी तथा गजलकार शैलेन्द्र श्रेष्ठको गजल संग्रह ‘मतिना पौ’ को लोकार्पण सम्पन्न भएको छ।
शनिबार साँखुस्थित भगवती स्कुल, भौ ध्वाखामा भएको कार्यक्रममा साहित्यकार, सङ्घसंस्थाका प्रतिनिधि, सञ्चारकर्मी र साहित्यप्रेमीको उल्लेख्य उपस्थिति थियो। प्रतिष्ठानका अध्यक्ष दुर्गाप्रसाद (यचु) जोशीको सभापतित्व र वरिष्ठ साहित्यकार भूषणप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो। भाग्योदय कलेजका प्रिन्सिपल कुन्ज जोशीलगायतको सहभागिता रहेको थियो।
गजल वाचन सत्रमा ध्रुव मधिकर्मी, बद्री वेदना, राजा वज्राचार्य, रामेश्वर जलन, सुधीर ख्वबि, रोजी श्रेष्ठ, मानन्धर अभागीलगायत २० भन्दा बढी गजलकारले नेपालभाषामा गजल वाचन गरे। रीता महर्जनले गजल गायन प्रस्तुत गरिन्।
कार्यक्रमको सञ्चालन रामेश्वर श्रेष्ठले गरेका थिए। समापनमा अध्यक्ष जोशीले सहभागी सबैप्रति धन्यवाद व्यक्त गरे।