01/06/2026
छात्रवृत्ति छनोट परीक्षामा १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण
योग्यता क्रममा चित्त नबुझे पुनर्योगका लागि २ दिनको समय
काठमाडौँ महानगरपालिकाले हिजो (जेठ १७) गते लिएको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन् । छात्रवृत्ति परीक्षा समितिको आजको निर्णय अनुसार न्युनतम ४० अङ्क हासिल गर्ने उम्मेदवारहरूको प्रारम्भिक योग्यता क्रम सहितको नतिजा प्रकाशन गरिएको हो । यो छात्रवृत्ति महानगरपालिका अन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ मा अध्ययनका लागि हो ।
नतिजा हेर्न अनलाइन फाराम भरेको पोर्टलमा आफ्नो रोल नम्बर, जन्ममिति र पासवर्ड (मोबाइल/इमेलमा प्राप्त) राखी स्कोर कार्ड हेर्न, डाउनलोड गर्न र प्रिन्ट गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
https://metronews.kathmandu.gov.np/news/detail/0106758641
31/05/2026
छात्रवृत्ति छनोट परीक्षाको योग्यता सूची २४ घण्टाभित्र प्रकाशन गर्ने विभागको तयारी
'प्रारम्भिक योग्यता क्रममा चित्त नबुझे पुनर्योगका लागि २ दिनको समय दिएपछि योग्यता क्रमको सूची प्रकाशन हुनेछ' – शिक्षा अधिकारी, ढकाल
‘अबको २४ घण्टाभित्र योग्यता क्रमको प्रारम्भिक नतिजा प्रकाशन गर्ने तयारी सुरु गरिसकेका छौँ ।’ उहाँले भन्नुभयो, ‘प्रारम्भिक योग्यता नतिजामा चित्त नबुझ्नेहरुका लागि २ दिन पुनर्योगको समय दिन्छौँ । त्यो अवधि र प्रक्रिया सकिएपछि योग्यता क्रमको प्रकाशन हुन्छ । यसैका आधारमा पहिलो चरणको मनोनयन प्रकाशन गर्नेछौँ ।’
उत्तर पुस्तिका ओएमआर (अप्टिकल मार्क रिकग्निसन) विधिबाट परीक्षण हुनेछ । प्रणालीबाट उत्तर पुस्तिका परीक्षणको तयारी गरिरहनु भएका शिक्षा अधिकृत प्रल्हाद खतिवडाले प्रणालीबाट प्राप्त नतिजामध्ये ५ प्रतिशत उत्तर पुस्तिकाको रेन्डम स्याम्प्लिङ गरिने जानकारी दिनुभयो ।
https://metronews.kathmandu.gov.np/news/detail/3105728649
31/05/2026
९ वटा खेलमा ८ अङ्क बटुल्दै बज्राचार्य वुद्धिचाल खेलका विजयी
काठमाडौँ महानगरपालिका वडा २४ ले आयोजना गरेको प्रतियोगितामा ५ देशका २२६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए
काठमाडौँका राजेन्द्र बज्राचार्यले ८ अङ्क बटुल्दै, नविन्द्रराज जोशी स्मृति तेस्रो फिडे र्यापिड (१९०० मुनि) चेस टुर्नामेन्टको विजेता हुनुभएको छ । जेठ १५ र १६ गते ९ चरणमा सम्पन्न प्रतियोगितामा समान अङ्क प्राप्त गर्नुभएका रुकुमका मिलन रोका टाइब्रेक अङ्कले दोस्रो र मोराङ्का उमेश राईले तेस्रो स्थान हासिल गर्नुभयो । यसै गरी चितवनका सन्तोष गौत्तम, पाँचथरका महेन्द्रकुमार साम्बाहाम्फे, काठमाडौँका जनार्दन श्रेष्ठ, काभ्रेका योगेश श्रेष्ठ, काठमाडौँका रमेश वीर माली, झापाका डा. सुशन गौत्तम र दोलखाका कविन्द्र शिवाकोटीले क्रमशः चौथो, पाँचौँ, छैटौँ, सातौँ, आठौँ, नवौँ र दशौँ स्थान प्राप्त गर्नुभयो ।
महिला तर्फ चितवनकी पूर्णिमा गुरुङ् ५.५ अङ्कसहित उत्कृष्ट खेलाडी बन्नुभयो । यस्तै खोटाङ्की कुसुम घिसिङ दोस्रो उत्कृष्ट र काठमाडौँकी पञ्च्या बोलल्चा तेस्रो उत्कृष्ट महिला खेलाडी बन्नुभयो ।
https://metronews.kathmandu.gov.np/news/detail/3105831964
30/05/2026
बालाजु पौडी पोखरीमा १३७ जना खेलाडी बिच अन्तर वडा पौडी प्रतियोगिता सुरु
'महानगरवासीलाई स्वस्थ्य र सक्रिय बनाउने, अन्तर वडा सहकार्यको संस्कार बढाउने उद्देश्य हो' - वडा सदस्य, ढुङ्गेल
बालाजु उद्यानस्थित पौडी पोखरीमा आजदेखि महानगर स्तरीय पौडी प्रतियोगिता सुरु भएको छ । काठमाडौँ महानगरपालिकाको वडा नंं २९ ले नेपाल पौडी संघसँगको सहकार्यमा ‘स्वस्थ्य सरीर, स्वस्थ्य वडा, स्वस्थ्य महानगर’ नारासहित आयोजना गरेको प्रतियोगितामा विभिन्न वडाहरुबाट १३७ जना खेलाडी प्रतिस्पर्धामा हुनुहुन्छ । जसमा ७६ जना पुरुष र ६१ जना महिला खेलाडी हुनुहुन्छ ।
प्रतियोगितामा ५० मिटर, १ सय मिटर, २ सय मिटर र ४ सय मिटर दुरीमा फ्रिस्टाइल, ब्रेस्टस्ट्रोक, वटरफ्लाई विधामा प्रतिस्पर्धा हुनेछ । इन्डिभिज्युअल मेडले २ सय मिटर दुरीको हुनेछ । यस्तै महिला पुरुषको संयुक्त रिले पनि हुनेछ ।
https://metronews.kathmandu.gov.np/news/detail/3005619534
30/05/2026
सहकारी संस्थाहरूको विघटन / दर्ता खारेजी सम्बन्धी सूचना
काठमाडौँ महानगरपालिका क्षेत्राधिकार भई सञ्चालनमा रहेका सहकारी संस्थाहरूले काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा ६६ बमोजिम सहकारी संस्था विघटन र दर्ता खारेजी गर्ने सम्बन्धमा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
लगातार दुई वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेको अवस्था भएमा र साधारण सभाको तत्काल कायम रहेको दुई तिहाई बहुमत सदस्यको निर्णयबाट संस्थाको विघटन गर्ने निर्णय गरी दर्ता खारेजीको स्वीकृतिका लागि इच्छुक संस्थाले यस विभागमा माग गर्न सक्नेछ ।
आवश्यक कागजातहरू
१. संस्थाको लेटर प्याडमा सहकारीको विघटन/दर्ता खारेजी सम्बन्धी निवेदन,
२. वडा कार्यालयबाट व्यवसाय कर तथा बहाल कर चुक्ताको प्रमाणपत्र,
३. कर चुक्ताको प्रमाणपत्र (आन्तरिक राजस्व कार्यालयबाट),
४. साधारण सभाबाट दुई तिहाई सदस्यले सहकारी विघटन/दर्ता खारेज गर्ने निर्णयको प्रमाणित प्रतिलिपि,
५. शेयर सदस्यको विवरण (नाम, नागरिकता नं., फोन नं., ठेगाना, शेयर सङ्ख्या र रकम),
६. ऋणीहरूको विवरण (नाम, नागरिकता नं., फोन नं., ठेगाना, सेयर सङ्ख्या र ऋण रकम),
७. बचतकर्ताको विवरण (नाम, नागरिकता नं., फोन नं., ठेगाना, सेयर सङ्ख्या र बचत),
८. हाल सम्मको सञ्चालक समितिको तीन पुस्ते विवरण (अनुसूची-६ को प्रमाणित प्रतिलिपि),
९. ऋण लगानी बाहेकका अन्य चल/अचल सम्पत्तिको विवरण,
तत्पश्चात् लिक्विडेटर नियुक्त गरी संस्थाको माग अनुसार विघटन/दर्ता खारेजीको प्रक्रिया अगाडि बढाइनेछ ।
30/05/2026
काठमाडौँका ज्येष्ठ नागरिकको मलिनो स्वर, ‘सहरमा मान्छेको संख्या मात्र धेरै हो, हरेक मान्छे एक्लो जीवन विताइरहेका छन्’
वडा ११ बाट ७० वर्ष उमेर पूरा गरेका १२५ जना ज्येष्ठ नागरिकलाई तीर्थाटन
सहर र घरमा एक्लिँदै गएका ७० वर्ष उमेर पुगेका १२५ जना ज्येष्ठ नागरिकलाई वडा नं. ११ कार्यालयले तीर्थाटन गराउन पलाञ्चोक लगेको थियो । गाडीमा आफूजस्तै पाका उमेरका व्यक्तिहरु देख्दा, समूहमा देवीको दर्शन गर्न पाउँदा, आफ्नै उमेरका सँग सामुहिक खाना र खाजा खाँदा उहाँहरुको अनुहारमा उझ्यालो देखिँदै गएको थियो ।
तीर्थाटनमा सहोदर दाजुभाइ ८७ वर्षिय हीरामान डंगोल र ८५ वर्षिय मचाम डंगोल एकैसाथ हुनुहुन्थ्यो । उहाँहरुले एकै ठाउँमा उभिएर अनुभव सुनाउँदै भन्नुभयो, ‘सहरमा म मात्र एक्लो होइन । मजस्तै अरु पनि एक्लै हुनुहुँदो रहेछ । भन्ने देख्न पाइयो । एक्लाएक्लाहरुका बिचमा भेटघाट गर्न पाउँदा त उमेर नै बढेको जस्तो भयो । मजस्तै विरामी भएका अरु पनि हुनुहुँदो रहेछ । यो पनि थाहा भयो । उहाँहरुलाई देखेर मलाई त बाँच्न आत्मबल बढ्यो ।’ उहाँसँगै यात्रामा रहनुभएका ७७ वर्षिय कन्हैयाराज श्रेष्ठले विगत सम्झिँदै भन्नुभयो, ‘म बन कार्यालयको उपमहानिर्देशक पदबाट रिटायर्ड भएको हूँ । त्यो बेला सम्झँदा अहिले लाग्छ, ‘पदमा हुँदा मान्छे धरातलमा होइन । हावामा उडेको हुन्छ । आफूलाई अरुभन्दा माथि भएको लाग्छ । कसैलाई गन्दैन । कसैले भनेको मान्दैन ।’ मलाई पहिलेका कुरा सम्झँदा अहिले लाग्छ, ‘त्यसबेला सबै निरर्थक काम गरिएछ ।’ वडाले ज्येष्ठ नागरिकका लागि कार्यक्रम आयोजना गरेर म जस्ता व्यक्तिलाई सामाजिकीकरण गरायो । यसले जीवनप्रति उर्जा थपिएको छ । सामाजिक दुरी घटाएको छ ।’
https://metronews.kathmandu.gov.np/news/detail/3005688087
29/05/2026
काठमाडौँ महानगरपालिका वडा २४ को आयोजनामा सुरु भएको वुद्धिचाल प्रतियोगितामा ५ देशका २२६ जना खेलाडी प्रतिस्पर्धामा
प्रतियोगिताको ५ चरणमा शर्मा, लामा, महर्जन र राई अग्र स्थानमा : भोलि ४ चरण खेल हुने
वडाले विश्व वुद्धिचाल महासंघ, एशियन चेस फेडरेसन र नेपाल चेस फेडरेसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो ।
खेल, स्वीस सिस्टममा आधारित अर्थात एक जना खेलाडीले ९ जना खेलाडीसँग प्रतिस्पर्धा गरेर उच्च अङ्क प्राप्त गर्ने खेलाडी विजेता हुने प्रणालीमा खेलाइँदै छ । यसमध्ये आज ५ चरणमा खेल सम्पन्न भएको छ । यी चरणमा काठमाडौँका सीएम भगवती प्रसाद शर्मा र दिपक महर्जन, मोराङ्का उमेश राई र मकवानपुरका फुर्वा लामाले ५ वटै खेल जितेर शीर्ष स्थानमा रहनुभएको प्रमुख निर्णायक (इन्टरनेशनल आर्बिटर) ज्ञानेन्द्र खाइजुले जानकारी दिनुभयो ।
खाइजुका अनुसार स्वीस लिग प्रणालीमा हरेक जितका लागि खेलाडीले १ नम्बर प्राप्त गर्नेछन् । बराबर भयो ०.५ अंक प्राप्त हुनेछ ।
https://metronews.kathmandu.gov.np/news/detail/2905758238
28/05/2026
८३ वटा केन्द्रमा २६ हजार ६८० जना विद्यार्थी छात्रवृत्ति छनोट परीक्षामा सहभागी हुँदै
आवेदन दिएकै प्रणालीबाट प्रवेश पत्र प्रिन्ट गर्न सकिने
परीक्षार्थीहरूले महानगरपालिकाको आधिकारिक पोर्टल इन्ट्रान्स डट काठमाडौँ डट जीओभी डट एनपी मा लग इन गरेर प्रवेश पत्र डाउनलोड गर्न सक्नेछन् । साइटमा लग इन गर्न एसईईको सिम्बोल नम्बरलाई युजरनेम लेखिएको ठाउँमा प्रविष्ट गराउनुपर्छ । यसपछि जन्म मिति र इमेल वा म्यासेजमार्फत प्राप्त भएको पासवर्ड राखेपछि पेज खुल्छ ।
प्रवेशपत्र अनिवार्य रूपमा रङ्गिन प्रिन्ट गर्नुपर्छ । ब्ल्याक एण्ड ह्वाइट प्रिन्ट गरिएको वा स्पष्ट फोटो र विवरण नभएको प्रवेश पत्रलाई मान्यता दिइने छैन । परीक्षा केन्द्रमा आउँदा प्रवेशपत्रका साथै फोटोसहितको परिचय खुल्ने आधिकारिक कागजात (एसईई प्रवेशपत्र, विद्यालयको आइडी कार्ड वा नागरिकताको प्रमाणपत्र) अनिवार्य रूपमा साथमा लिई उपस्थित हुनुपर्नेछ । प्रवेशपत्रको पछाडिपट्टि उल्लेख गरिएका परीक्षा सम्वन्धी नियम तथा आचारसंहिताहरू परीक्षार्थीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्छ । नियमको उल्लंघन भएमा परीक्षा रद्द गरिनुका साथै प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
https://metronews.kathmandu.gov.np/news/detail/2805227992
28/05/2026
पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले वडा १६ को टीम विजेता : वडा नं. ५ को टोली उपविजेता
वडा नं. १६ ले आयोजना गरेको प्रतियोगितामा १३ वटा वडाका बिच प्रतिस्पर्धा
मुकुन्द रिजाल स्मृति वडास्तरीय फुटबल प्रतियोगितामा आयोजक वडा नंं १६ को टीम विजेता बनेको छ । लैनचौर खेल मैदानमा आज वडा नं. ५ को टीमसँग भएको फाइनल खेलमा पेनाल्टी सुट आउटमा ३-२ गोल अन्तरले आयोजक टीम विजेता र वडा नं. ५ को टीम उपविजेता बनेको हो ।
प्रतियोगिताको समापन अवसरमा वडाध्यक्ष रोजिना श्रेष्ठले, विजेता टीमलाई २ लाख रुपियाँ, उपविजेता टीमलाई १ लाख रुपियाँ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गर्नुभयो । समापन अवसरमा वडा नं. ५ का नितेश महर्जनलाई उत्कृष्ट किपरका रुपमा ट्रफी प्रदान गरियो ।
https://metronews.kathmandu.gov.np/news/detail/2805637646