26/10/2022
27-10-2022
ओम् शान्ति
प्रातः मुरली
“बापदादा”
मधुबन“ मीठे बच्चे– तिमी ले यस पतित दुनियाँबाट आफ्नो बुद्धियोग निकालेर बेहदको संन्यासी बन्नु छ , संन्यासी मतलब पूरा पवित्र र पक्का योगी।”प्रश्न:–कुनचाहिँ अवस्था आएपछि मायाको तुफान समाप्त हुन्छ?उत्तर:–जब मेरो पति, मेरो बच्चा.... यस मेरो-मेरोबाट बुद्धियोग टुट्छ। मेरो त एक शिवबाबा दोस्रो न कोही– यो बुद्धिमा पक्का हुन्छ। एक बाबासँग नै पूरा बुद्धियोग लागेको हुन्छ, तब मायाको तुफान समाप्त हुन्छ।
ओम् शान्ति। भगवानुवाच। यो त बच्चाहरूले बुझेका छौ– आत्माहरूको पिता, उहाँलाई भनिन्छ परमपिता परम आत्मा। बाबा स्वयं सम्झाउनुहुन्छ– आकारमा मेरो कुनै ठूलो रूप छैन। जस्तै आत्माको लागि भन्छन् तारा जस्तै छ, भृकुटीको बीचमा रहन्छ। त्यस्तै म पनि परम आत्मा हुँ। उहाँको महिमा धेरै छ। ज्ञानसागर हुनुहुन्छ। बाँकी यति ठूलो चित्र जत्रो छैन। यति ठूलो भए त यस शरीरमा पस्न सक्नुहुने थिएन। यहाँ त शिवलिङ्गको पूजा गर्छन् त्यसैले ठूलो बनाउँछन्। बुढीऔंला जस्तो भन्छन्। आत्मा मतलब आत्मा, केवल उहाँलाई परम भनिन्छ, जो परमधाममा रहनुहुन्छ। तिमीलाई थाहा छ– यतिबेला यो समय हो आसुरी दुनियाँ, आसुरी सम्प्रदाय। सत्ययुगमा यहाँ देवताहरूको राज्य थियो, अहिले त आसुरी राज्य छ। हेर, के-के खान्छन्! मासु, रक्सी– यो राक्षसी आहार हो, यस कुरालाई पनि जान्दैनन्। विद्यालयमा पनि कसैको राम्रो विचार, कसैको रजोगुणी, कसैको तमोगुणी हुन्छ। जसले अरूलाई बुझाउन सक्दैन उसलाई बुद्धु भनिन्छ। ब्रह्माकुमार-कुमारीहरूमा पनि नम्बरवार महारथी, घोडसवार, पैदल सेना धेरै छन्। जसले राम्रोसँग बुझाउन सक्दैनन्, ज्ञान पूरा नभएकाले डिससर्भिस गर्छन्। जति जसमा ज्ञान छ, त्यति बुझाउँछन्। नम्बरवार त छन्। कहीं गल्ती पनि गर्छन्। बच्चाहरूलाई नशा हुनु पर्छ– हामी त देवता बनिरहेका छौं। बाबा स्वयं भन्नुहुन्छ– म पतितहरूको दुनियाँमा आउँछु। सत्ययुगमा यिनै नारायण थिए। अहिले फेरि यिनको तनमा आएको छु, यिनलाई नै नरबाट नारायण बनाउँछु। नम्बरवन पूज्य पनि यिनै थिए, अहिले नम्बरवन पुजारी पनि यिनै बनेका छन्। फेरि यिनको नै अलराउन्ड पार्ट छ। यो मैले नियुक्त गरेको तन हो। यो परिवर्तन हुन सक्दैन। यस्तो होइन कहिलेकाहीँ अरूलाई अवसर दिऊँ। यो ड्रामा बनिबनाउ हो। यसमा परिवर्तन हुन सक्दैन। बाबा भन्नुहुन्छ– म आउँछु पतितहरूको दुनियाँमा, तर कुनैलाई पतित भनेमा रिसाउँछन्। तर जब भगवानुवाच छ– सबै आसुरी सम्प्रदाय हुन्, त्यसैले मान्नु पर्यो नि। भगवान मतलब भगवान निराकार, न ब्रह्मा, न विष्णु, न शङ्कर, न कृष्ण...। बाबा भन्नुहुन्छ– म परमात्मा पनि तिमी जस्तै छु। भगवानुवाच– म तिमीलाई राजयोग सिकाउन आएको छु। योगको कति महिमा छ। धेरै योग आश्रम खुलेका छन्। त्यसमा हठयोग आदि सिकाउँछन्। तर तिमीले योगबलद्वारा सारा विश्वलाई स्वर्ग बनाउँछौ। विश्वलाई परिवर्तन गर्छौ। सारा दुनियाँ त योगमा रहँदैनन्। योगको कति महिमा छ, जसबाट दुनियाँ स्वर्ग बन्छ। तर कसैलाई थाहा छैन– यसलाई स्वर्ग कसले बनाएको हो? अवश्य यस्तो कोही स्वर्ग बनाउनेवाला छ। बाबा भन्नुहुन्छ– म नै आएर देवता बन्ने कर्म सिकाउँछु। यो त धेरै सहज छ। उनीहरूले धेरै यज्ञ गर्छन्। यहाँ तिमीले कुनै यज्ञ हवन गर्छौ र? धूप पनि वास्नाको लागि बाल्छौ। बाँकी यहाँ कर्मकाण्डको कुनै कुरा छैन। त्यसैले बाबाले आफ्नो परिचय दिनुहुन्छ– जस्तो तिमी छौ त्यस्तै म पनि आत्मा हुँ। तर मैले पुनर्जन्म लिन्नँ, जन्म लिन्छु तर मरणमा आउँदिनँ। मेरो जयन्ती मनाउँछन्। म यस तनमा पढाउनको लागि आउने-जाने गर्छु, यसलाई मृत्यु भनिदैन। म आउँछु देवता बनाउन। अहिले जो आएर पढ्छन्..., पढ्छन् पनि उनैले जसले कल्प पहिले पढेका थिए। धेरै समयदेखि बिछोड भएका उनै सिकीलधे बच्चाहरू हुन्, अरू कहाँ ८४ जन्ममा आउँछन् र। हामीले नै सारा ८४ को चक्कर लगाउँछौं। मनुष्य त धेरै जन्म लिने कुराले दिक्क हुन्छन्, तिमीलाई भन्छन्– हामी ८४ को चक्रमा आउन चाहँदैनौं। तर हामी कति पहलवान छौं, झन् खुशी हुन्छौं। हामी यस ८४ को चक्रलाई याद गर्दै-गर्दै चक्रवर्ती राजा बन्छौं। उनीहरूको झण्डामा पनि चक्र छ, फेरि उनीहरूले चर्खा बनाइदिएका छन्। त्यसको सट्टा तिम्रो कोट अफ आर्म (राजमुद्रा) ठीक छ। माथि शिवबाबा, तल त्रिमूर्ति र चक्र बिल्कुलै ठीक राखिएको छ। यो तिम्रो शिवको झण्डा बिल्कुलै ठीक छ।
तिमीलाई सम्झाउनु भएको छ– संन्यास दुई प्रकारका हुन्छन्। एउटा हुन्छ निवृत्ति मार्गको संन्यास, जो जंगलमा जान्छन्, त्यो हो अर्ध संन्यास। तिम्रो हो पूर्ण संन्यास। के को? सारा आसुरी दुनियाँको संन्यास गर्छौ– मेरो पति, मेरो बच्चा, मेरो गुरु... ती सबै मेरो-मेरोबाट बुद्धियोग तोड्छौ। मेरो त एक शिवबाबा, दोस्रो न कोही। जबसम्म यो अवस्था आउँदैन, तबसम्म तुफान आइरहन्छ। विचलित भइरहन्छौ। बाबाले सारा आसुरी दुनियाँको संन्यास गराउनुहुन्छ किनकि यो सबै भस्म हुनु छ। उनले यस्तो भन्दैनन्– सबै भस्म हुनु छ। तिमी रहन्छौ सम्बन्धीहरूको बीचमा तर उनलाई देखेर पनि बुद्धि त्यहाँ लागेको हुन्छ। मेरो केही छँदै छैन, त्यसैले काम क्रोध कोसँग हुन्छ! यो युक्ति धेरै राम्रो हो, तर जब बुद्धिमा बस्छ भने मात्र। यसलाई राजयोग भनिन्छ। तिमीले योग लगाउँछौ, रजाइँ लिन्छौ। त्यो हो हठयोग। यी गहन प्वाइन्टहरू हुन्। योगी त दुनियाँमा धेरै छन्। तर बाबा भन्नुहुन्छ– एक जनाको पनि मसँग योग छैन। मेरो सट्टा मेरो निवास स्थान ब्रह्मतत्त्वसँग योग छ। जस्तै भारतवासीले आफ्नो निवास स्थान, हिन्दुस्तानलाई आफ्नो धर्म मानेर बसेका छन्। त्यस्तै उनीहरूले पनि आफूलाई ब्रह्मको बच्चा सम्झन्छन्, वास्तवमा बच्चा पनि भनिदैन। बच्चा भनेपछि त फेरि वर्सा चाहिन्छ। उनीहरूले त भन्छन्– तत्त्वमा लीन हुन्छौं। बाबालाई त अनुभव छ। धेरै संन्यासी, गुरुहरूसँग अनुभव गरेका छन्। अर्जुनलाई पनि देखाउँछन् धेरै गुरु थिए। तिमीहरू सबै अर्जुन हौ। यस समयमा सारा दुनियाँमा रावणको राज्य छ, सारा दुनियाँ लङ्का हो। एक सीलोनको द्वीप मात्रै लङ्का होइन। त्यो हदको लङ्का हो। तर बेहदको लङ्का त सारा दुनियाँ हो। अहिले सारा दुनियाँमा रावणको राज्य छ। रामको राज्यमा यति मनुष्य थिएनन्। जब रामराज्य हुन्छ, त्यतिबेला रावणराज्य हुँदैन। कहाँ जान्छ? तल पातालमा जान्छ। फेरि रावणराज्य आएपछि रामराज्य तल जान्छ। यो ड्रामा हो नि। जब चक्र घुम्छ, तब सत्ययुग माथि आउँछ। द्वापर, कलियुग तल जान्छ। त्यसैले सत्ययुग त्रेता तलबाट माथि आउँछ। हो चक्रको कुरा, उनीहरूले यस्तो लेखिदिएका छन्। बाँकी कुनै सागरमा जाँदैन वा सागरबाट निस्केर आउँदैन।
बाबा सम्झाउनु हुन्छ– यी धेरै गहन बुझ्नु पर्ने कुरा हुन्। यसमा पवित्रता हो फस्ट र योग पक्का हुनु पर्छ। यसलाई भनिन्छ– पूर्ण संन्यास। यस दुनियाँबाट बुद्धियोग समाप्त। यो कुरा तिमीहरूमा पनि कसैले मात्रै बुझ्छन्। सबैले बुझे भने त ज्ञान गङ्गा बन्ने थिए। साना नदी बन्ने थिए, नहर बन्ने थिए। राम्रो तलाउ बनेर घरमा सुनाए भने पनि बुझिन्छ केही त बुझेका रहेछन्। तर घरमा पनि बताउन सक्दैनन्। बाबा भन्नुहुन्छ– जति नै गरिब भए पनि घरमा गीता पाठशाला खोल्न सक्छौ। ठीकै छ एउटा कोठा होस्, त्यसैमा खाने-पिउने सुत्ने होस्। काम सकेर सफाई गर अनि फेरि यो क्लास गराऊ। तीन पाइला पृथ्वीमा यति ठूलो हस्पिटल खोल्न सक्छौ। धनवानको कुरा छोड। बाबा त गरिब निवाज हुनुहुन्छ नि। धनवानले त भन्छन्– हामीलाई त यहाँ नै स्वर्ग छ। बाबा भन्नुहुन्छ– ठीक छ, तिमी आफ्नो स्वर्गमा नै खुशी होऊ। मैले तिमीलाई किन ज्ञान दान दिऊँ! दान पनि गरिबलाई दिइन्छ। ठूला मानिस त यहाँ जमीनमा बस्नुपर्दा तर्सिन्छन्। त्यसैले बाबा भन्नुहुन्छ– आफ्नो महलमा नै बस। मेरो पासमा त गरिब आउँछन्, जसले राम्रोसँग पढ्छन्। यदि अरूलाई सुनाउन सक्दैनौ भने सानो तलाउ पनि ठहरिएनौ। तिमी त ठूलो नदी बन्नु छ। मम्मा बाबालाई अनुसरण गर्नु छ। तर घरमा पनि सुनाउन सक्दैनौ भने अञ्जुलीको पानी जति पनि ठहरिएनौ। बाबालाई त मज्जा आउँछ ज्ञान गङ्गाको सामुन्ने। बाबाको सम्मुख सुन्दा कति खुशी हुन्छन्। तर यहाँबाट उठेर सिँढी तल उत्रिने बित्तिकै नशा पनि उत्रिन थाल्छ। घर पुगेपछि त फेरि उही परचिन्तन चल्छ। बाबाले त चालचलनबाट बुझ्नुहुन्छ। आउँछन् मिल्नको लागि। भन्छन् मेरो पति, मेरो बच्चा हो। अरे तिम्रो पति कहाँबाट आयो? आउँछौ स्वर्गमा जानको लागि फेरि पनि मेरो-मेरोमा फसेका छौ। ठीक छ, यति डोज पर्याप्त छ। दिनु यति पर्छ, जति पचाउन सक्छन्। बाबाले सारमा बताउनु भएको छ। योगद्वारा तिमीले स्वर्गको स्थापना गरिरहेका छौ। बाँकी बादशाहीको लागि ज्ञान चाहिन्छ। दुई विषय छन्। यी बाबाले पनि योगमा रहने पुरुषार्थ गर्छन् त्यसैले त भन्छन् नि– न बिसरो न याद रहो। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः–
१) यस पुरानो दुनियाँको पूर्ण संन्यास गर्नु छ। पवित्रता र योगको विषयमा पहिलो नम्बर लिनु छ।
२) ज्ञान गङ्गा बनेर पतितहरूलाई पावन बनाउने सेवा गर्नु छ। मम्मा बाबालाई अनुसरण गरेर ठूलो नदी बन्नु छ।
वरदान:–ब्राह्मण जीवनमा कम खर्च बालानशीन गर्ने अलौकिकता सम्पन्न भव
यस अलौकिक ब्राह्मण जीवनको विशेष स्लोगन छ “कम खर्च बालानशीन”। खर्च कम होस् तर प्राप्ति शानदार होस् अर्थात् रिजल्ट राम्रो भन्दा राम्रो होस्। अलौकिकता सम्पन्न जीवन तब भनिन्छ जब बोलीमा, कर्ममा खर्च कम हुन्छ। कम समयमा काम ज्यादा होस्, कम बोलीमा स्पष्टीकरण ज्यादा होस्, सङ्कल्प कम होस् तर शक्तिशाली होस्– यसलाई भनिन्छ कम खर्च बालानशीन। जसले सबै खजाना कम खर्च गर्छन्, उनको भण्डारा भरपुर हुन्छ।स्लोगन:–बाबा र सेवासँग सच्चा प्यार छ भने परिवारको प्यार स्वत: मिल्छ।
मातेश्वरीजीका अनमोल महावाक्य:–
१) अहिले यो जुन शिरोमणि गीतामा भगवानुवाच छ– प्यारा बच्चाहरू! जहाँ जित छ, त्यहाँ म छु, यो पनि परमात्माको महावाक्य हो। पहाडहरूमा जुन हिमालय पहाड छ, त्यसमा म हुँ र नागहरूमा काली नाग म हुँ। त्यसैले पर्वतमा उच्च पर्वत कैलाश पर्वत देखाउँछन् र नागहरूमा काली नाग, यसबाट सिद्ध हुन्छ– परमात्मा यदि सबै नागहरूमा केवल काली नागमा हुनुहुन्छ भने सबै नागहरूमा उहाँको वास भएन। यदि परमात्मा उच्चभन्दा उच्च पहाडमा हुनुहुन्छ मतलब होचो पहाडहरूमा हुनुहुन्न अनि फेरि भनिएको छ– जहाँ जित त्यहाँ मेरो जन्म, मतलब हारमा होइन। यो कुराले सिद्ध गर्छ– परमात्मा सर्वव्यापी हुनुहुन्न। एकातिर यस्तो पनि भन्छन् र अर्कातिर यस्तो पनि भन्छन्– परमात्मा अनेक रूपमा आउनुहुन्छ। जस्तै परमात्मालाई २४ अवतारको रूपमा देखाएका छन्। भन्छन्– कछुवा, माछा आदि सबै रूप परमात्माको हो। अब यो हो उनीहरूको मिथ्या ज्ञान, त्यसैगरी परमात्मालाई सर्वत्र मानेर बसेका छन्, जबकि यतिबेला कलियुगमा सर्वत्र माया नै व्यापक छ। फेरि परमात्मा व्यापक कसरी ठहरिनुभयो? गीतामा पनि भनिएको छ– म मायामा व्यापक छैन, यसबाट सिद्ध हुन्छ– परमात्मा सर्वत्र हुनुहुन्न।
२) अब यो त हामीलाई थाहा छ– हामी निराकारी दुनियाँ भन्छौं भने निराकारको अर्थ यो होइन– त्यसको कुनै आकार हुँदैन। निराकारी दुनियाँको मतलब हो अवश्य कुनै दुनियाँ छ, तर त्यसको स्थूल सृष्टि जस्तो आकार छैन। त्यसैगरी परमात्मा निराकार हुनुहुन्छ तर उहाँको आफ्नो सूक्ष्म रूप अवश्य छ। हामी आत्मा र परमात्माको धाम निराकारी दुनियाँ हो। हामीले दुनियाँ शब्द भन्छौं भने यसबाट सिद्ध हुन्छ– त्यो दुनियाँ हो र त्यहाँ रहन्छन् त्यसैले त दुनियाँ नाम राखिएको छ। दुनियाँले त सम्झन्छन्– परमात्माको रूप पनि अखण्ड ज्योति तत्त्व हो, त्यो भयो परमात्माको रहने ठेगाना, जसलाई रिटायर्ड होम भनिन्छ। हामीले परमात्माको घरलाई परमात्मा भन्न सक्दैनौं। अर्को छ आकारी दुनियाँ, जहाँ ब्रह्मा, विष्णु, शङ्कर देवताहरू आकारी रूपमा रहन्छन् र यो हो साकारी दुनियाँ, जसका २ भाग छन्– एउटा छ निर्विकारी स्वर्गको दुनियाँ जहाँ आधाकल्प सर्वदा सुख हुन्छ, पवित्रता र शान्ति हुन्छ। दोस्रो छ विकारी कलियुगी दु:ख र अशान्तिको दुनियाँ। अब उनीहरूले २ दुनियाँ किन भन्छन्? किनकि यो जुन मनुष्यले भन्छन्– स्वर्ग र नर्क दुवै परमात्माले रच्नु भएको दुनियाँ हो, यसमा परमात्माको महावाक्य छ– प्यारा बच्चाहरू! मैले कुनै दु:खको दुनियाँ रचेको होइन, मैले जुन दुनियाँ रचेको हुँ त्यो सुखको रचेको हो। अहिले यो जुन दु:ख र अशान्तिको दुनियाँ छ, त्यो मनुष्य आत्माहरूले आफूले आफैंलाई र म परमात्मालाई भुल्नाले यो हिसाब-किताब भोगिरहेका छन्। बाँकी यस्तो होइन जुन समयमा सुख र पुण्यको दुनियाँ हुन्छ, त्यहाँ कुनै सृष्टि चल्दैन। हो, अवश्य जब हामीले भन्छौं– त्यहाँ देवताहरूको निवास स्थान थियो, त्यतिबेला त्यहाँ सबै प्रवृत्ति चल्थ्यो तर यति अवश्य थियो– त्यहाँ विकारी जन्म हुँदैनथ्यो, जसकारण यति कर्मबन्धन थिएन। त्यस दुनियाँलाई कर्मबन्धन रहित स्वर्गको दुनियाँ भनिन्छ। त्यसैले एक छ निराकारी दुनियाँ, दोस्रो छ आकारी दुनियाँ, तेस्रो छ साकारी दुनियाँ। अच्छा– ओम् शान्ति।

26/10/2022
25/10/2022