13/09/2026
https://www.facebook.com/share/p/19UeLQSAMz/
मिति : २०८२ भाद्र २८ गते
प्रेस बिज्ञप्ति
धवलागिरी आवासीय माध्यामिक तथा टेक्स विद्यालयमा अध्ययनरत छात्रा छात्रावासमा मृत फेला
परेको घटनाको निष्पक्ष छानबिन गरी न्याय प्रदान गर्न एवं बिद्यालयको शैक्षिक वातावरण बनाउनका लागि महासंघको जोडदार अपिल |||
बागलुङ नगरपालिका वडा न. १, रामरेखास्थित श्री धवलागिरी आवासीय माध्यामिक तथा टेक्स विद्यालयमा अध्ययनरत एक किशोरी छात्रावासमा मृत फेला परेको घटनाप्रति नेपालभरिका आम बहिरा नागरिकहरुको हक, अधिकारको प्रवर्धन तथा संरक्षणका लागि छाता संगठनका रुपमा वि.स. २०५२ सालमा स्थापित राष्ट्रिय बहिरा महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको छ |
कम्प्युटर इन्जिनियरिङको तेस्रो वर्षमा अध्ययनरत जुम्लावाट आएकी बिद्यार्थी गत शुक्रबार राती छात्रावासमा झुन्डिएको अवस्थामा मृत फेला परेको जानकारी प्राप्त भएको छ । अध्ययनरत विद्यार्थी सुरक्षित र संरक्षित हुनुपर्ने विद्यालयको छात्रावासजस्तो स्थानमा विद्यार्थीले ज्यानै गुमाएको घटना अत्यन्त गम्भीर र संवेदनशील विषय हो | विद्यार्थीको सुरक्षा एवं उपयुक्त शैक्षिक वातावरण सुनिश्चित हुने सुरक्षित स्थानका रुपमा लिइने छात्रावासमा यस्ता मृत्युका घटना घट्नु गम्भीर चिन्ताको बिषय हो | जिल्ला प्रहरी कार्यालय, बागलुङले उक्त घटनाको छानबिन सुरु गरेको जानकारीमा आएको छ। यस्ता घटनामा अन्यायमा परेर पीडित हुन पुगेका बहिरा विद्यार्थीले संचार अवरोधका कारण आफ्ना समस्या एवं सत्यतथ्य संचार गर्न नसकेका कारण थप पीडित हुनुपरेको तिती तथ्य हाम्रा सामु छ |
बहिरा व्यक्तिहरूको सञ्चार, सुरक्षा तथा आफ्ना समस्या व्यक्त गर्ने अवस्था अन्य व्यक्तिको तुलनामा फरक र संवेदनशील हुने भएकाले महासंघ दक्ष नेपाली सांकेतिक भाषा दोभाषेको अनिवार्य व्यवस्था गर्न, सम्बन्धित बहिरा व्यक्तिहरुको पर्याप्त र सहि संचारको सुनिश्चित गरी अनुसन्धान, सोधपुछ तथा बयान लिने प्रक्रिया अघि बढाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछ।
घटना आत्महत्या नै हो वा कसैको दबाब, दुर्व्यवहार, हिंसा, मानसिक यातना, लापरबाही वा अन्य कुनै आपराधिक कारणबाट भएको हो भन्ने विषय निष्पक्ष, स्वतन्त्र र वैज्ञानिक अनुसन्धान गरिनुपर्छ। अनुसन्धानका नाममा घटनालाई दबाउने, प्रभावित पार्ने वा प्रमाण नष्ट हुने र पीडित व्यक्ति झन् पीडित हुने कुनै पनि कार्य कतैबाट नहुने सुनिश्चित गर्न महासंघ सम्बन्धित सबैलाई अपील गर्दछ । देशका विभिन्न जिल्लाबाट उच्च शिक्षा हासिल गर्न श्री धवलागिरी आवासीय माध्यमिक तथा टेक्निकल विद्यालयमा आएका बहिरा विद्यार्थीहरूको शान्ति, सुरक्षा तथा संरक्षण सुनिश्चित गर्दै घटनामा संलग्न जो–कोही भए पनि कानुनी कारबाहीको दायरामा ल्याई तत्काल न्यायोचित सम्बोधन गर्न महासंघ जोडदार माग गर्दछ। आमसञ्चारमाध्यमहरूले समेत घटनाको सत्यतथ्य बाहिर ल्याउन जिम्मेवार तथा संवेदनशील ढंगले विषय उठान गरी सहयोग गर्न महासंघ सबैमा आग्रह गर्दछ।
विद्यालयमा सहज र सुरक्षित शैक्षिक वातावरण कायम गर्न, विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न तथा तत्काल पठनपाठन सुचारु हुने वातावरण निर्माण गर्न आवश्यक भूमिका निर्वाह गर्न शिक्षा इकाई, बागलुङ नगरपालिका, विद्यालय व्यवस्थापन समिति, बागलुङ बहिरा संघ, राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय लगायतलाई महासंघ परिवार हार्दिक अपिल गर्दछ। साथै, धवलागिरी बहिरा विद्यालयमा विद्यमान समस्याको न्यायिक निरुपण गर्न तथा विद्यार्थीहरूको सुरक्षा र शिक्षा अधिकार सुनिश्चित गर्न सम्बन्धित पक्षहरुसंगा आवश्यक पहलकदमी एवं समन्वय गर्न राष्ट्रिय बहिरा महासंघ नेपाल प्रतिबद्ध र तत्पर रहेको समेत जानकारी गराउँदछु ।
सन्तोष के. सी.
अध्यक्ष
राष्ट्रिय बहिरा महासंघ नेपाल