03/11/2026
अब त्रिभुवन विश्वविद्यालयका शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्याइने।
सार्वजनिक सेवालाई थप सहज, छरितो र नागरिकमैत्री बनाउने उद्देश्यले त्रिभुवन विश्वविद्यालय र हुलाक सेवा विभागबीच विद्यार्थीका शैक्षिक प्रमाणपत्र घरदैलोमै पुर्याउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
समझदारीपत्रमा त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार डा. रविन्द्र शिवाकोटी र हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्ताक्षर गर्नुभएको छ।
यस सहकार्यले विद्यार्थीलाई शैक्षिक प्रमाणपत्र प्राप्त गर्ने प्रक्रियामा थप सहजता प्रदान गर्नुका साथै हुलाक सेवाको पहुँच र विद्यमान पूर्वाधारलाई नागरिकको प्रत्यक्ष सेवासँग जोड्नेछ।
हुलाक सेवाको आधुनिकीकरणसँगै सरकारी तथा सार्वजनिक सेवाहरू नागरिकको घरदैलोसम्म विस्तार गर्ने दिशामा यो समझदारी अर्को महत्वपूर्ण पहल साबित हुने अपेक्षा गरिएको छ।